होली पर्वको धार्मिक र सांस्कृतिक विशेष

आज नेपालकाे पहाडी भू-भाग र भाेलि तराइमा हाेली मनाइँदै
होली पर्वलाई केवल रंगको उत्सव भनेर बुझ्न सकिँदैन; यसको जरा गहिरो धार्मिक कथा र सांस्कृतिक परम्परामा छ। नेपालमा भाैगाेलिक विभाजन र सामुदायिक दृष्टान्त अनुसार रङ्ग, अबीर, लाेलाकाे प्रयाेगले फागु मनाइए पनि रीतिरिवाजमा भिन्नता रहेकाे पाइन्छ ।
पुराण अनुसार, विष्णुभक्त प्रह्लादलाई मार्न दैत्यराज हिरण्यकश्यपूले आफ्नी बहिनी होलिकालाई प्रयोग गरे। होलिकाले अग्निदेवबाट नजल्ने वरदान पाए पनि त्यो वरदान केवल आत्मरक्षाका लागि थियो। जब उनले प्रह्लादलाई मार्ने उद्देश्यले अग्निमा प्रवेश गरिन्, वरदान निष्क्रिय भयो र होलिका जलेर भष्म भइन्, तर प्रह्लाद सुरक्षित रहे। यस घटनाले सत्यको जित, असत्यको हार, भक्तिको संरक्षण र अहंकारको दहनलाई प्रतिकात्मक रूपमा देखाउँछ। यही दिनलाई “होलिका दहन” भनेर स्मरण गरिन्छ, र त्यसपछि सत्य, धर्म, आनन्द र एकताको प्रतीकका रूपमा होली पर्व मनाइन्छ।

धार्मिक मान्यतासँगै होलीले प्रकृतिको चक्रलाई पनि उत्सवमा रूपान्तरण गरेको छ। बसन्त ऋतुको आगमनसँगै वनजंगलमा नयाँ पालुवा पलाउँछन्, गुराँस, चिमाल, सुनाखरी, सुनगाभा, पलाँस जस्ता फूलहरू फुल्छन्। यी फूलहरू केवल सौन्दर्यका लागि मात्र होइन, आयुर्वर्धक औषधीय गुणका कारण पनि महत्वपूर्ण छन्। यही समय वर्षाको प्रारम्भिक संकेत देखिन्छ, इन्द्रेणीका सात रंग झल्किन्छन्, र प्रकृति नै उल्लासमय हुन्छ। होलीमा प्रयोग हुने रंगहरूलाई बसन्त ऋतुको आगमन र जीवनमा नयाँपनको प्रतीक मानिन्छ।
नेपालमा होली पर्व विभिन्न सांस्कृतिक परम्परासँग गाँसिएको छ। नेवारी समुदायले भौगोलिक दूरी अनुसार फरक–फरक रीति–रिवाज अपनाउँछन् जस्ताे कि भक्तपुरमा भीमसेन र द्रौपदीको यौनाङ्ग पूजा, काठमाडाैंकाे बसन्तपुरमा चीर गाड्ने र दहन गर्ने अनि कतै होलिका दहन।
हिमाली जिल्लाको सांस्कृतिक केन्द्र मानिने दोलखामा सप्तमीदेखि रातिराति फागु गीत गाउँदै शहर परिक्रमा गर्ने परम्परा छ। चतुर्दशीको रात नेवार समुदायका कुसुले खलकले अग्निकुण्ड बनाएर कलिला बाँस आगोमा झोसेर पड्काउने र यौनलीलासँग सम्बन्धित शब्दले फागु श्लोक गुञ्जाउने परम्पराले नेपालमा सांस्कृतिक सभ्यताको गुल्जार बनाएको पाइन्छ। जहाँ पूर्णिमाकाे दिन दुई टाेलमा समूहगत बाजा बजाएर फागु गीत गाउँदै शहर परिक्रमा गर्ने प्रचलन छ ।
विशेषतः याे फागु पर्वमा युवायुवतीहरू रंग र अबीर दलेर रमाइलो गर्छन्। यसलाई केवल खेल वा मनोरञ्जन होइन, जवानीको एक रूप दर्शाउने उत्सवका रूपमा पनि बुझिन्छ। यसरी धार्मिक कथा, प्राकृतिक संकेत र सांस्कृतिक परम्परा सबै मिलेर होलीलाई एक विशेष पर्व बनाउँछन्। यो पर्वले हामीलाई सत्य र धर्मको विजय, प्रकृतिको पुनर्जागरण, र जीवनको उल्लासलाई एकैसाथ मनाउन प्रेरित गर्छ।
तस्बिर साभारः शिवजी प्रधान र गुगल संसार