२०८२ फागुन १ काठमाडाैं-
प्रचण्डको जनयुद्ध दिवस सम्बोधन – रुकुमको भूमे–२, खाबाङ बगरमा आयोजित ३१औँ जनयुद्ध दिवस कार्यक्रममा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध समाप्त नभएको दाबी गर्दै अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताए। उनले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भन्दै भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण, औषधि सरकारी उत्पादन, हिमाल समृद्धि कार्यक्रम, मेगा फूड पार्क, इको टुरिज्म जस्ता योजनाहरू अधूरै रहेको उल्लेख गर्दै पाँच वर्षसम्म स्थिर सरकार नपाउँदा नीति–कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाए।
आम जनता पार्टीकाे घोषणापत्र सार्वजनिक – अध्यक्ष प्रभु साहले चुनावी घोषणापत्र सार्वजनिक गर्दै विद्यमान व्यवस्था असफल भएको निष्कर्ष प्रस्तुत गरेका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री–मुख्यमन्त्रीको व्यवस्था, ‘राइट टु रिकल’ अधिकार, कर प्रणालीमा सीमा, नागरिकता प्रावधान पुनरावलोकन, भ्रष्टाचारमाथि जननिगरानी, सरकारी खर्च अनलाइन सार्वजनिक गर्ने योजना रहेकाे छ। ‘एक घर–एक रोजगारी’ कार्यक्रम, बेरोजगारलाई भत्ता, युवा उद्यमीलाई बीउ पुँजी, न्यायालय डिजिटलीकरण, नीतिगत भ्रष्टाचारमा सम्पत्ति जफत गर्ने प्रतिवद्धता।
नेपाली कांग्रेसको तयारी – पार्टीले फागुन ३ गते आइतबार चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गर्ने घोषणा। प्रवक्ता देवराज चालिसेले जानकारी दिँदै सभापति गगन थापाले यसलाई घोषणापत्र नभई ‘प्रतिज्ञा पत्र’का रूपमा प्रस्तुत गर्ने बताएका थिए।
प्रधानमन्त्री कार्कीको बधाई सन्देश – बंगलादेशमा सम्पन्न १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशिला कार्कीले बधाई दिँदै लोकतान्त्रिक प्रक्रियाको मजबुतीलाई ऐतिहासिक उपलब्धि भनेकी छन्। तारिक रहमानको नेतृत्वमा बीएनपीको विजयलाई उल्लेखनीय उपलब्धि भन्दै नयाँ सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन्।
बलिवुड भट्ट दम्पतीलाई जमानत – निर्माता विक्रम भट्ट र पत्नी श्वेतांबरी भट्टलाई सर्वोच्च अदालतले जमानत आदेश जारी। ठगी आरोपमा ७ डिसेम्बरदेखि उदयपुर जेलमा रहेका उनीहरूलाई तत्काल रिहा गर्न आदेश। व्यवसायी अजय मुर्डियाले ३० करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका थिए। सर्वोच्चले आगामी १९ फेब्रुअरीमा सुनुवाइ तय गर्दै सम्बन्धित पक्षलाई उपस्थित हुन नोटिस पठाएको छ।