सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीद्वारा पक्राउ

फागुन १ काठमाडाैंं – वीरगञ्जको अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
सोमबार वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले आदर्शनगरस्थित मदन गुप्ताको गोदाममा छापा मार्दा व्यापारी समूहको आक्रमणबाट तीन प्रहरी घाइते भए। दुई सवारीसाधनमा क्षति पुगेको थियो।
पक्राउ परेकालाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेकाहरूमा प्रमोदकुमार कानु, कुञ्जन सर्राफ, दिपराजसहनी मलाह, श्रीचन्द्रप्रसाद साह, प्रभु महतो र पृतमकुमार चौधरी छन् । नियन्त्रणमा संलग्न संयुक्त टोलीले भन्सार छली गरेर राखिएको कपडा बरामद गरेको छ, जसको मूल्य करिब रु १२ लाख ५० हजार रहेको प्रहरीले जनाएको छ।