रामेछापकाे त्रिवेणीमा बस दुर्घटना १२ काे मृत्यु

रामेछाप माघ २७ – काठमाडाैंबाट ओखलढुङ्गातर्फ जाँदै गरेकाे यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँमादुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ ।
पछिल्लाे पटक प्राप्त खबर अनुसार दुर्घटनामा अहिलेसम्म १२ जनाको मृत्यु भएकाहरूमा दुर्घटनास्थलमा ६ जनाको र उपचारको क्रममा ६ जनाको मृत्यु भएको रामेछाप जिल्ला प्रहरीको भनाइ रहेकाे छ ।
प्रदेश ०३–०१–९९५ ख ९९७५ नम्बरको बस काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुङ्गाको पोकलीतर्फ जाँदै गर्दा आज मङ्गलबार बिहान रामेछापको मचानेटार भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको बताइएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाले गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि गरे । प्रहरी निरीक्षक तिम्सिनाका अनुसार हालसम्म ३ जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ ।
तामाकोशीमा डुबेको बसबाट अन्यलाई निकाल्ने प्रयास जारी रहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।