
पाठेघरको मुखको क्यान्सर रोकथाम: ३.५ लाख बालबालिकालाई खोप लगाइने लक्ष्य
काठमाडाैं माघ २५ – सरकारले आजदेखि देशभर कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउने अभियान सुरु गरेको छ।
कक्षा ६ का किशोरीसँगै विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइनेछ। गत वर्ष छुटेका कक्षा ७–१० का विद्यार्थी र ११–१४ वर्ष उमेर समूहका किशोरी पनि यसै अभियानमा समेटिनेछन्।
फागुन १५ सम्म सञ्चालन हुने अभियान हिमाली तथा हिउँ पर्ने जिल्लामा भने चैतमा हुने सरकारी स्राेतले जनाएकाे छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी सङ्क्रमण भएकाले खोप अत्यावश्यक रहेकाे जानकारी गराउँदै स्वास्थ्य सेवा विभागले खोप शतप्रतिशत प्रभावकारी रहने बताए ।
नेपालमा दैनिक औसत ६ महिलामा यो क्यान्सर देखिने, जसमा ४ जनाको मृत्यु हुने तथ्यांक सार्वजनिक गर्दै माघ २२ देखि फागुन ६ सम्म सञ्चालन गरिएको अभियानमा करिब १७ लाख किशोरीलाई खोप लगाइएको स्मरण गरिएकाे छ। यस वर्ष २० दिनको अभियानमा करिब ३ लाख ५० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकाे स्राेतकाे दाबी छ।