
काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चार माध्यमलाई आधिकारिक स्रोतमा आधारित समाचार मात्र प्रवाह गर्न आग्रह गरेकाे छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सञ्चार माध्यमलाई आधिकारिक स्रोतमा आधारित समाचार मात्र प्रवाह गर्न आग्रह गर्दै निर्वाचनका क्रममा भ्रामक समाचार फैलिन नदिन विशेष ध्यान दिनुपर्ने बताए ।
कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर सामाजिक सञ्जालमा व्यक्तिको छविमा आँच आउने खालका सामग्री देखिएको भन्दै आयोगले मेटा, टिकटकलगायत प्लेटफर्मसँग सहकार्य गर्न लागेको जानकारी भण्डारीले दिएका छन् ।
त्यसैगरी आयोगका सचिव कृष्णबहादुर राउतले आचारसंहिता पालना गराउने निगरानी दायित्व सञ्चार माध्यमकै हुने उल्लेख गर्दै नेपाल टेलिभिजन, रेडियो नेपाल र रासस जस्ता सरकारी सञ्चार माध्यम अझ बढी जिम्मेवार हुनुपर्ने धारणा राख्दै राससले आन्तरिक आचारसंहिता बनाएको प्रशंसा गर्दै अन्य सञ्चार गृहलाई पनि यस्तो अभ्यास सुरु गर्न सुझाव दिए ।
यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले नागरिकलाई सही सूचना दिन र निर्वाचन सफल पार्न सञ्चार माध्यमको भूमिका अहम हुने बताएकी छन् । सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता दुवैलाई ध्यानमा राखेर निष्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।
निर्वाचन आयोग र सरोकारवाला निकायहरूले यसपटकको निर्वाचनमा सत्य, आधिकारिक र निष्पक्ष समाचार प्रवाह गर्न सञ्चार माध्यमलाई विशेष जिम्मेवारी दिलाएका छन्। टेलिभिजनले देशभरका आफ्ना समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको छ।