
७५३ स्थानीय तहलाई नामको हिज्जे मिलाउन मन्त्रालयले आदेश दिएको छ। नेपाली र अङ्ग्रेजी नाम फरक–फरक हुँदा नागरिकता, राहदानी, परिचयपत्रलगायत कागजातमा समस्या भएको गुनासोपछि मन्त्रालयले १५ दिनभित्र आधिकारिक हिज्जे पठाउन निर्देशन दिएको हो। यसपछि सरकारी प्रणाली र डिजिटल पोर्टलमा एउटै नाम प्रयोग हुने मन्त्रालयको योजना छ।
काठमाडाैं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तहलाई आफ्नो नेपाली र अङ्ग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्न निर्देशन दिएको छ।
स्थानीय तहको नाम फरक–फरक हुँदा नागरिकता, राहदानी, परिचयपत्र, जग्गाधनी प्रमाण पुर्जा, सवारी चालक अनुमतिपत्र र शैक्षिक प्रमाणपत्रजस्ता कागजातमा सेवाग्राहीलाई समस्या भएको गुनासोपछि मन्त्रालयले कदम चालेको हो।
मन्त्रालयले हालै परिपत्र जारी गर्दै १५ दिनभित्र आधिकारिक हिज्जे पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ। साथै राजपत्रमा प्रकाशित नामसँग फरक नपर्ने गरी अक्षर, भाव र हिज्जे मिलाउन भनिएको छ।
प्रत्येक स्थानीय तहले कार्यपालिकाबाट निर्णय गराई तोकिएको ढाँचामा विवरण उपलब्ध गराउनुपर्नेछ। विवरण सङ्कलनपछि सरकारी प्रणाली, डिजिटल पोर्टल र वेबसाइटहरूमा एउटै नाम र हिज्जे कायम गर्ने मन्त्रालयको योजना छ।