काठमाडौंको सिनामंगल नजिकै गैरीगाउँमा भीषण आगलागी

काठमाडाैं पुष २२ – काठमाडौंको सिनामंगल नजिकैकाे गैरीगाउँस्थित फर्निचर तथा काठ गोदाममा आज बिहानबाट भीषण आगलागी भएको छ।
नेपाल प्रहरी, नेपाली सेना र दमकलका दर्जनौं गाडी परिचालन गरी आगो नियन्त्रणको प्रयास भइरहे पनि आगलागीबाट निस्किएको बाक्लो धुवाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ फैलिँदा आन्तरिक उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।
अन्तर्राष्ट्रिय उडानमा समेत प्रभाव परेकाे जानकारी दिंदै विमानस्थल प्रशासनले आगो नियन्त्रणमा आएपछि उडानहरू क्रमशः सुचारु गरिनेछ। बुद्ध एयर, यती एयरलाइन्सलगायतका कम्पनीहरूले आफ्ना उडानहरू होल्डमा राखेकाे बताएका छन् ।
प्रारम्भिक अनुमानअनुसार सर्टसर्किटका कारण आगलागी भएको बताइएको छ। गोदाममा ठूलो परिमाणमा काठ र फर्निचर भण्डारण भएकाले आगो चाँडै फैलिएको हो। आर्थिक क्षति ठूलो भए पनि मानवीय क्षति भएको खबर आएको छैन।
स्थानीय बासिन्दाले धुवाँका कारण सास फेर्न कठिनाइ भएको गुनासो गरेका छन्। काठमाडौं उपत्यकाको वायु प्रदूषण थप बढेको छ। यात्रुहरूलाई आफ्नो उडान स्थिति वायुसेवा कम्पनीसँग जाँच गर्न र विमानस्थलमा अनावश्यक भीड नगर्न आग्रह गरिएको छ।