नक्कली नोट छाप्ने मेसिनसहित थप दुईजना पक्राउ

काठमाडाैं पाैष २१ –
काठमाडाैं जिल्लाकाे गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दै जाँदा साेही गतिविधिमा संलग्न अन्य २ जना बाराबाट पक्राउ गरिएकाे छ ।
नक्कली नोट छाप्ने मेसिनसहित थप दुईजना पक्राउ परेका बाराको कलैया उपमहानगरपालिका–२ का २८ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ का २८ वर्षीय रविकुमार श्रीवास्तव हुन् ।
श्रीवास्तवले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर प्रिन्टिङ मेसिनलगायत सामग्री नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई काठमाडौं प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।
भारतको मोतिहारी लाला टोलको पतौनामा डेरा लिएर श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको अनुसन्धानबाट खुलेको छ । उनले नेपालमै नक्कली नोट छाप्नका लागि आवश्यक सामग्री ल्याएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले श्रीवास्तवका साथबाट भारतीय रुपैयाँ ५०० दरका ३१७ थान, मोनिटर एक थान, रङ्गीन प्रिन्टर एक थानलगायत उपकरण बरामद गरेको बताइएकाे छ ।