दोलखामा स्थापित घरेलु तथा साना उद्योग कार्यालय उद्योग तथा वाणिज्य मन्त्री विन्दु श्रेष्ठद्वारा निरीक्षण

दोलखा, पौष ८, २०८२ – बागमती प्रदेश सरकार अन्तर्गतकाे उद्योग तथा वाणिज्य मन्त्री माननीय श्री विन्दु श्रेष्ठज्यूले आज दोलखा जिल्लास्थित प्रारिम्भक चरणमा स्थापित घरेलु तथा साना उद्योग कार्यालयको भवन परिसरको निरीक्षण गर्नुभएको छ।
दाेलखा जिल्लाकाे भीमेश्वर नगरपालिका वडा नं. २ दाेलखा शहरस्थित घरेलु भवनकाे निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कार्यालयको भौतिक पूर्वाधार, सेवा प्रवाहको अवस्था तथा स्थानीय उद्यमीहरूको वर्तमान स्थिति बारेमा जानकारी लिनुभएको थियो।
दोलखाली सामाजिक संघसंस्थाहरूको संयोजक तथा द्वाल्खा गुठीका अधयक्ष श्री विनोद मास्केले कार्यालय संचालन गर्न आवश्यकीय सबै प्रकृयासहितका निर्णयहरू मन्त्रालयमा पेश भैसकेकोले हाल चरिकाेटमा सञ्चालन भइरहेकाे घरेलु उद्योगकाे कार्यालय आफ्नै भवन दोलखावाट संचालन गर्नका लागि यथाशीघ्र पहल गरि दिन अनुरोध गर्नु भयो ।
दाेलखावासीले उक्त कार्यालय सकेसम्म चाँडै नै सञ्चालन हुनेछ भनी उत्सुकताकासाथ प्रतीक्षा गरिरहेकाे जानकारि गराउनु भयो । उहाँले घरेलु तथा साना उद्योग क्षेत्रको प्रवर्द्धन, उद्यमीहरूले भोग्दै आएका समस्या र सुधार गर्नुपर्ने आवश्यक विषयहरूको बारेमा पनि विस्तृत जानकारी गराउनु भयो।
मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योगले स्थानीय रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माण र जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सरकार यस क्षेत्रको सुदृढीकरणका लागि पहलकदमी अगाडी बढाउन तैयार रहेकाे प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँको स्थलगत निरीक्षण र सरोकारवालासँगको संवादले दोलखा जिल्लामा घरेलु तथा साना उद्योगको प्रवर्द्धन, सेवा सुधार तथा उद्यमशीलता विकासमा थप ऊर्जा र आशा जगाएको स्थानीय उद्यमीहरूको भनाइ रहेको छ।
स्थापनाकालदेखि नै दाेलखाकाे भीमेश्वर (भीमसेन) मन्दिर परिसरमा निरन्तर सञ्चालन भइरहेकाे साे घरेलु उद्याेगकाे कार्यालय द्वन्द्वकाल पछि विभिन्न कारण देखाएर स्थानीय सराेकारवालाहरूसँग सरसल्लाह नै नगरी बिना सूचना सदरमुकाम चरिकाेट सारिएकाे थियाे ।