
विक्रम सम्वत् २०८२ मंसिर २२, नेपाल सम्वत् ११४६ थिंलागाक चतुर्थी तिथि साेमबार – ८ डिसेम्बर २०२५
काठमाडौं – उपप्रधानपञ्चदेखि चारपटकसम्म प्रधानमन्त्री बनेका पूर्व प्रधानमन्त्री तथा नेपाली साहित्यका सर्जक लोकेन्द्रबहादुर चन्दलाई विभिन्न साहित्यिक संस्था, सञ्चार फाँटका व्यक्तित्वहरूद्वारा ससम्मान अभिनन्दन गरिएको छ ।
भक्तपुर जिल्लाको लोकन्थलीस्थित अभिनन्दित व्यक्तिकै सुपुत्र अरुण चन्दको निजी निवासमा गरिएको सो समारोह मूल संयोजक तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीकोे अध्यक्षतामा भएको हो ।

अभिनन्दित व्यक्ति चन्दको साहित्यिक र सामाजिक जीवनसँग सम्बद्ध सकारात्मक तथ्यहरूलाई उजागर गर्दै लोकेन्द्रबहादुर चन्द एक समयमा सशक्त राजनीतिज्ञ समेत रहेको चर्चा नेपाली बाल साहित्यिक क्षेत्रका प्रखर व्यक्ति साहित्यकार प्रमोद प्रधानले गरे । साथै हालसालै केही नेता तथा पूर्व सत्ताधारीहरूको नाम भ्रष्टाचारीमा अंकित गरेर अख्तियार र अदालतमा समेत पुगेको अवस्थामा चन्दको बारेमा कुनैखालका टीकाटिप्पणी नहुनु नै उनी स्वच्छ छविका उदाहरणीय व्यक्ति रहेको धारणा प्रधानकाे थियाे ।
समारोहमा अभिनन्दित व्यक्तित्व चन्दको बारेमा साहित्यकार प्रमोद प्रधानले यसरी व्याख्या गरे– ‘राजनीति र साहित्यका दुबै शिखरमा नेपालको राजनीतिक इतिहासमा लोकेन्द्रबहादुर चन्दको नाम विशेष स्थानमा रहन्छ। बैतडीको दुर्गम गाउँ कुरकुट्यामा जन्मिएका चन्द उपप्रधानपञ्चदेखि चारपटक प्रधानमन्त्रीसम्मको यात्रा तय गर्न सफल भए। पञ्चायती व्यवस्थाको उत्थानदेखि पतनसम्म, र बहुदलीय लोकतन्त्रको प्रारम्भिक चरणसम्म उनको भूमिका निर्णायक रह्यो। राजनीतिक जीवनको सुरुवात वकालत र समाजसेवाबाट गरेका चन्द २०२५ सालमा उपप्रधानपञ्च हुँदै २०३७ मा राष्ट्रिय पञ्चायत अध्यक्ष बने। राजा वीरेन्द्रको विश्वासपात्रका रूपमा २०४० मा प्रधानमन्त्री बनेका उनले २०४६ मा पञ्चायती व्यवस्थाको अन्तिम प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाले। बहुदल आएपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षत्व ग्रहण गर्दै संसदीय निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट विजय हासिल गरे। तर चन्द केवल राजनीतिमा सीमित रहेनन्।‘

चन्दकाे साहित्यिक यात्राबारे प्रधानले थपे- ‘साहित्यमा पनि उनको योगदान उत्तिकै गहिरो छ। निबन्ध, कथा, कविता, नाटक र उपन्यासमार्फत उनले नेपाली साहित्यलाई समृद्ध पारे। ‘हिउँको तन्ना’ र ‘विसर्जन’ जस्ता कृतिले उनलाई मदन पुरस्कार दिलायो भने ‘बाह्राैँ खेलाडी’ जस्ता व्यङ्ग्यात्मक निबन्धले समाजलाई आलोचनात्मक दृष्टि दिनसके। हिन्दी कविता संग्रह ‘इन्द्र धनुष’ र अंग्रेजी कृति ‘द चेयर’ मार्फत् उनले अन्तर्राष्ट्रिय साहित्यिक जगतमा पनि उपस्थिति जनाए। आज जीवनकाे साँढे आठ दशक पार गरेकाे उमेरमा पनि साहित्यिक सिर्जनामा सक्रिय चन्द नेपाली समाजका लागि एउटा प्रेरणादायी व्यक्तित्व हुन्। उनका जीवनयात्राले देखाउँछ कि राजनीतिक नेतृत्व र साहित्यिक सिर्जना एकै व्यक्तिमा कसरी संगम हुन सक्छ भनेर सायद जाे काेही पत्याउन असम्भव छ।‘

प्रधानको प्रस्तुतिपछि साहित्यकार श्री ओम् श्रेष्ठ ‘रोदन’ले अभिनन्दनपत्रमा उल्लेख गरिएको १०१ संख्यामा रहेको संस्था, सञ्चार र समाजको नाम वाचन गरेपछि साहित्यिक पत्रकार संघका अध्यक्ष र कृष्णसिंह धामीबाट लोकेन्द्रबहादुर चन्द र उनकी धर्मपत्नीसमेतलाई दोसल्ला ओढाई, टीका लगाई नेपाली ढाकाको टोपी पहिर्याएर दूबोको माला पहिर्याउँदै अभिनन्दनपत्र अर्पण गरिए । उनको अभिनन्दनमा उपस्थित सर्जक, स्रष्टा र आफन्तजनले पनि ससम्मान गर्न सरिक भएका थिए ।
कार्यक्रमकाे अन्ततितर सर्जक लोकेन्द्र बहादुर चन्दका छोरा जयन्त चन्दले परिवारका तर्फबाट आयोजक संस्था र सम्पूर्ण सहभागी साहित्यिक संस्थाहरूलाई धन्यवाद व्यक्त गरेका थिए भने गायक नरहरि प्रेमीले गीत गाएर सभालाई सङ्गीतमय बनाएका थिए ।
तारा किसन फाउण्डेसनका संरक्षक किसनसिंह धामीले सामूहिक अभिनन्दन विशिष्ट साहित्य साधकलाई गर्न पाएकाेमा सबै साहित्यिक संस्था हर्षित भएकाे अनुभूति व्यक्त गरे । औपचारिक कार्यक्रम सकिएपछि सुदूर पश्चिमाञ्चलको छलिया नृत्य र बाजामा सबै साहित्यकार नाचेर थप रमाइलो गरेका थिए।