
सिड्नी, अष्ट्रेलिया– २१ मंसिर (७ डिसेम्बर २०२५) । अष्ट्रेलियाको राजधानी सिड्नीस्थित ‘म्याक्स् वेभर लाइब्रेरी’मा नेपालको पहिलो मासिक पत्रिका ‘शारदा’को अष्ट्रेलिया साहित्य विशेषाङ्क १३९, २०८२ कार्तिकबारेमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।
‘शारदा’ मासिकका सम्पादक–प्रकाशक विमल भौकाजीको परिचर्चा हुनुका साथै त्यहाँस्थित नेपाली स्रष्टाहरूबीच भेटघाट कार्यक्रम भएको हो ।

कार्तिक अङ्कको परिचर्चाबारेमा गरिएको भेटघाट कार्यक्रमको संयोजन सौरभकिरण श्रेष्ठले गरेका हुन् भने व्यवस्थापन अनिता श्रेष्ठले गरेकी हुन् ।

कूल ५६ वटा रचना सङग्रहित यो अङ्कको बारेमा कथाकार अमरकुमार प्रधानले समीक्षात्मक टिप्पणी गरे । वरिष्ठ साहित्यकार गार्गी शर्माले पत्रिकामा सङ्ग्रहित कविताहरूको विश्लेषण गरेकी छन् । बरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले संस्मरणात्मक निबन्धको चर्चा गरे । सानु घिमिरे ‘ज्योत्स्ना’ले प्रकाशित रचनामा नारी पात्रको केलाएकी थिइन् ।
अष्ट्रेलियामै रहेकी साहित्यप्रेमी प्रतिज्ञा अधिकारीले सञ्चालन गरेकाे साे कार्यक्रममा ४५ जना लेखककाे सहभागी भएकाे र उपस्थित २० जना स्रष्टाहरूले आ–आफ्नो रचनाको सन्दर्भ कोट्याएर नेपालको पुरानो ‘शारदा’ पत्रिकामा यसरी रचना प्रकाशित गरी अन्तर्राष्ट्रियकरण गर्न पाएकोमा प्रसन्नता प्रकट गरेका छन् ।
‘शारदा’ मासिक पत्रिकाले यसभन्दा पहिले अमेरिका र लण्डनमा पनि विशेषाङ्क प्रकाशित गरिसकेको जानकारी हाल अष्ट्रेलियाको निजी भ्रमणमा रहेका दोलखाली साहित्यकार अमरकुमार प्रधानले जानकारी गराएका छन् ।
