
साेच–विचार
दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. २ मा हिजाेआज देखिएको दृश्य केवल पानी बग्ने घटना मात्र होइन, यो दशकौँदेखि अलपत्र परेको प्रणालीमा नयाँ जीवन फुक्ने ऐतिहासिक क्षण हो। राजकुलोको पानी दाेलखाकाे २ ऐतिहासिक पाेखरी हुँदै किसानहरूकाे खेतबारीमा पुगेको दिनलाई स्थानीयले उत्सवका रूपमा मनाउनु अस्वाभाविक होइन।
२० वर्षअघि नेपाल सरकारले करिब ३ करोड रुपैयाँ विनियोजन गरेर मरिङखोला (अँधेरी खाेला), इन्द्र (पाखलती) पोखरी, रानीपोखरी तथा मूल कुलो पुनःनिर्माण गरेको थियो। उद्देश्य स्पष्ट थियो- किसानलाई सिचाइ उपलब्ध गराउने। तर, बारम्बार बजेट खर्च भए पनि किसानका खेतमा पानी पुग्न सकेन। समितिहरू गठन भए, बैठकहरू भए, खर्च देखाइयो, तर परिणाम शून्य रह्यो।
यही पृष्ठभूमिमा दोलखाली युवाहरूले शुरु गरेको “जन द्वाल्खा जिन दकेई अभियान” (मेराे दाेलखा म बनाउँछु)ले देखाएको परिणाम भने बिल्कुल फरक छ। कुनै अतिरिक्त बजेट वा सरकारी खर्चबिना, केवल इच्छाशक्ति र सामूहिक श्रमको बलमा अवरुद्ध कुलो सफा गरेर पानी बगाउने मार्ग पुनःस्थापित गरियो। यसले एउटा गहिरो सन्देश दिएको छ—विकासका लागि पैसाभन्दा बढी चाहिन्छ समर्पण, जिम्मेवारी र जनशक्ति।

स्थानीय युवा उदयराज श्रेष्ठको भनाइमा सार्थकता झल्किन्छ, उनले भनेका छन्- “२० वर्षमा समितिले गर्न नसकेको काम युवाहरूले १५ दिनमै गरिदिए” । याे धारणा केवल भावनात्मक प्रतिक्रिया होइन, नेतृत्वको गुणस्तर र कार्यक्षमताको तुलनात्मक मूल्याङ्कन हो। यसले देखाउँछ कि जब नागरिक स्वयं सक्रिय हुन्छन्, तब दशकौँदेखि थिलथिलो पारिएको संरचना पनि पुनर्जीवित हुन्छ।
दाेलखा सुदृढ र सक्षम बनाउने अभियानका अध्यक्ष नरेन्द्र श्रेष्ठ र सचिव शिवजी प्रधानले पोखरीहरूको संरक्षण, सरसफाइ, सामूहिक माछापालन र पर्यटन विस्तारको योजना सार्वजनिक गरेका छन्। यसले भविष्यमा कृषि मात्र होइन, स्थानीय अर्थतन्त्र र सांस्कृतिक महत्वलाई पनि बलियो बनाउने सम्भावना देखाउँछ।
वडाध्यक्ष स्टालिन श्रेष्ठको समर्थनले यो अभियानलाई संस्थागत मान्यता दिएको छ। तर, यस सफलताको वास्तविक श्रेय युवाहरूको सामूहिक श्रम र स्थानीयवासीको सहभागितालाई जान्छ। तथापि स्थानीय जनप्रतिनिधिकाे मूल नाइके भएपछि जिम्मेवारी वहनमा राजनितिक पार्टीकाे स्वार्थगत निर्देशनमा लिप्त हुनु भएन । किनकि दाेलखा सबैकाे साझा धरातल हाे, सबैसंग समन्वयात्मक भावना जगाउन जरुरी छ ।
दोलखाको यो घटना केवल स्थानीय सिचाइको समस्या समाधान होइन, यो राष्ट्रिय स्तरमा पनि एउटा पाठ हो। जब राज्यको संरचना असक्षम हुन्छ, तब नागरिकको सक्रियता नै समाधानको बाटो बन्न सक्छ। यसले देखाएको छ- “जनशक्ति नै सबैभन्दा ठूलो पूँजी हो।”
आजको दिनले हामीलाई सम्झाएको छ कि विकासका लागि करोडौँ बजेट आवश्यक छैन, आवश्यक छ इच्छाशक्ति, पारदर्शिता र सामूहिक सहभागिता। दोलखाको स्थानीय युवाहरूकाे ताजगीपूर्ण पुनर्जागरणले नेपालभरका स्थानीय निकायलाई चेतावनी दिएको छ, जनताको श्रम र विश्वासलाई बेवास्ता गर्ने समय अब सकिएको छ।
दाेलखाकाे स्थानीय विकासका लागि परिवेशभन्दा बाहिर रहेका दाेलखाली संघसंस्थाहरूले केवल चाडबाडमा जाने, पानि वितरण गर्ने, एक छाक मीठाे खाजा खुवाउने, मन्दिर सजाउने र सामाजिक सञ्जालमा तस्बिर देखाएर सस्ताे लाेकप्रियताकाे उपमा बाेक्ने नीति त्यागेर हरेकले एक मुठी अन्नमात्र सहयाेग गर्दा पनि केही राहत हुन्छ । जसलाई ‘चन्दा‘काे व्याख्या नगरीकन स्वच्छभावले सहयाेग जुटाएकाे मान्न जरुरी छ । जय दाेलखा !