
दोलखाको भैरवकुमारी जात्राको महिमा नबुझ्नेमा स्थानीय बुद्धिजीवी, साँस्कृतिक अभियन्ता तथा सरोकारवाला स्थानीयपालिका पक्कै नहोला । जुन बालकुमारी देवीको मन्दिरलाई दोलखाली स्थानीय मौलिक भाषामा ‘कोबि देउ’ भन्ने गरिन्छ । यो देवीको आफ्नै महिमा छ र गरिमा पनि उत्तिकै रहेको छ ।

बालकुमारी देवीको उत्पत्तिसँगको कथा र जात्रा सञ्चालनबारेको जानकारी पाउन इतिहासप्रेमी तथा साँस्कृतिक अभियन्ता जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा लिखित ‘दोलखाको साँस्कृतिक सम्पदा’ नामक पुस्तकको १८६–१९४ पृष्ठसंख्यामा पढ्न सकिन्छ साथै प्रा.डा. श्याम जोशीका स्मृति स्मरणले पनि इतिवृत्तान्त बताएको देखिन्छ ।
तामाकोशी नदी किनारमा देखिएका दुई युवती कन्या त्रिपुरासुन्दरी र बालकुमारीलाई मात्र केन्द्रित गरी लेखिएको पुस्तक ‘दोलखाको साँस्कृतिक सम्पदा’ मा कालिञ्चोक भगवतीको प्रसङ्ग यसमा छुट्टाइएको छ । जब कि स्थानीय अग्रजहरू त्रिपुरासुन्दरी, कालिञ्चोक भगवती र बालकुमारीलाई दिदीबहिनीको नातासम्बन्ध गाँसिएको कथन रहेको बताउँछन् ।

खैर ती कथन, किंवदन्तीलाई नै आधार मानेर हेर्दा बालकुमारी देवीको स्वभावमा क्रोेधपन, चञ्चलपन र अस्वभाविक व्यवहारका कारण त्यसताकाका मानिसहरू सदैव भयभित रहने, त्रासकै कारण मृत्युवरण गर्ने भएकोले मानवीय तान्त्रिक शक्तिले आफ्नो कब्जामा राखी शहरभन्दा अलिक पर जङ्गलको बीचमा लगेर बासस्थान बनाई खाल्डो खनी कैदीस्वरूपमा सिक्रीले बाँधेर झुण्ड्याई राखेको र उनको जिद्दी र हठीपनका कारण हरेक वर्ष पाँच रात बाजागाजाका साथ आफू पनि नाच्ने र ती देवीलाई पनि नचाउँदै शहर घुमाउने शर्तमा हाल आश्रित स्थानमा राखिएको बुझिन्छ ।
पुर्खाहरूले जे जसरी राखिएको भएपनि सुरक्षित र संरक्षित हिसाबले जहाँ हाल उक्त मन्दिर देखिन्छ त्यहाँको अवस्था दयनीय रहेको पाइएको छ । एक त बालकुमारी देवीको नामैले त्रसित हुने कथनहरू पहिलेदेखि नै चल्दै आएकोले पनि हम्मेसी अन्य मानिसहरू त्यो ठाउँमा आवतजावत गर्न डराउँछन् । अर्को कु्रा त्यहाँ दीक्षा कर्म भएको व्यक्तिभन्दा बाहिरका जान नपाउने धारणा रहेको छ । एक शिवभक्ति परिवारका समुदायलाई विशेष छुट छ जो हरेक वर्ष भैरव र कुमारीको स्वरूप लिएर मकुण्डो धारण गरी नाच्ने गर्दछन् । र पनि त्यस मन्दिरलाई स्वतःस्फूर्तरूपमा आकर्षक बनाउन कसैले पहल गरेको देखिंदैन । सरोकारवालाहरूसँग आम्दानीको स्रोत नभएको बताउँछन् । स्थानीय निकायले खासै चासो दिएको पाइँदैन । उक्त बालकुमारी देवीको नाममा रहेको जग्गाको आयस्ताले सो सम्भव देखिंदैन ।

पहिले त गोडेटो बाटोमाथिको उत्तरतिरको जङ्गलको बीचमा रहेको सो मन्दिर अहिले दोलखा–नागदह सडक निर्माण भएपछि सडकभन्दा दक्षिण तिर परेको छ । सडकबाट एक खुड्किलो झर्ने बित्तिकै पुग्ने सो मन्दिरमा जीर्ण पर्खाल, झाडी, बुट्यानहरूले ढाकिएको छ । स्थानीय परम्परागत सोच, भयातुर कथन र त्रासमय चर्चाले गर्दा एकाध मान्छेहरूको प्रवेश हुन नपाउनुले पनि त्यहाँको यथार्थ अवस्था बुझ्न कठिन रहेको देखियो ।
समयले कोल्टे फेरिसकेको छ । जमाना प्रविधिको छ । आस्था आफैमा निर्भर रहन्छ । धार्मिक विश्वास आफैमा निहीत हुन्छ । भगवान प्रतिको भरोसा मान्यवरमा स्थिर हुन्छ भने भगवानको आश्रयस्थलप्रति उपेक्षा किन त ? के अहिलेपनि तान्त्रिक विधि अपनाएर भएपनि त्यो ठाउँलाई सुन्दर बनाउन सकिन्न र ? के अझै भय र त्रासको निहुँमा जात्रा मात्रै चलाएर, नाचेर, भोज खाएर, रमिते बनेर परम्परा र धार्मिक आस्था अटल रहन्छ र ? यक्ष प्रश्न यही छ । जबकि दोलखामा पाँच रात नचाइने यो भैरवकुमारीको जात्रा नेपालभरि नै पाइँदैन ।
समयानुसार पाइला चाल्न सक्नुपर्छ, जान्नुपर्छ । कि उक्त मन्दिर बनाउन पनि बालकुमारीदेवीलाई तान्त्रिकले वाचा गराए जस्तै भंगेराको पाइला मान्छे या जनावर जस्तै पाइला चाल्नुपर्ने हो कि ? तामाकोशीको बगरमा रहेको ढुंगा आँप बनेरै फल्नुपर्ने त होइन होला नि ! त्यसैले सम्पदाको धनी दोलखा, साँस्कृतिक नगर दोलखा र परम्पराको शहर दोलखा भनेर नारा मात्र गुञ्जाउन छाडौँ र दोलखामा जन्मेर संसारका कुनाकाप्चामा रहेका दोलखाली मन, सामाजिक संघसंस्था, बुद्धिजीवी लगायत स्थानीय पालिका सबै मिलेर बालकुमारी मन्दिरलाई ताजगी बनाउने प्रण गरौँ । जय बालकुमारी !
(याे समाचार लेख तैयार गर्न सहयाेग गर्नुहुने स्थानीय संस्कृतिप्रेमी तथा भजनका संवाहक भगवानदास श्रेष्ठ र वीरबहादुर शिवभक्तिप्रति हार्दिक आभार छ ।)
https://shorturl.fm/rTXTs