
दोलखाको भीमेश्वर नगरपालिकाभित्र आठ नारायणका मन्दिरहरू रहेका छन् । ती आठवटै मन्दिरको गुठी, पर्व र जात्रा इतिहासको गर्भभित्रै लुकेको छ ।

दोलखा नगरस्थित श्यामसुन्दर टोलको ‘श्याम नारायण’ मन्दिर, नारायण टोल (राइती) परिसरमा रहेको गोपीनारायण मन्दिर, ड्वाकुलुङा (ड्वाल्ङा) बालमन्दिर परिसरमा रहेको (जुन अपेक्षित अवस्थामा) नारायण मन्दिर, पालचुटी टोल सिद्ध नारायण मन्दिर (हाल लोपावस्था), भीमेश्वर मन्दिर परिसरमा रहेको (मूर्तिमात्र मन्दिर नभएको) नारायणको मूर्ति छ, (जुन २०१८ साल भन्दा अगाडि दोेलखाको मुख्य बजार क्षेत्रको हालको महादेव मन्दिरको दक्षिणी भागमा ढुंगे पँधेरो छँदा खेरी स्थापित), त्यस्तै दोलखाको पुरानो बस्ती मानिएको दुङ्गल टोलको लक्ष्मीनारायण मन्दिर र कोर्छेँ र गुर्कोट टोलको सीमामा रहेको वैभव नारायण मन्दिर छन् भने एक अष्ट नारायणको मन्दिर दोलखा शहरबाट १.५ किलोमिटर पश्चिमको नारायण देव घाट परिसरमा रहेको छ । यहाँ यत्रतत्र सर्वत्र भएपनि प्रायः औपचारिक परिक्रमा र केही व्यक्ति विशेषद्वारा गरिएको सामान्य पूजा र दर्शन बाहेक अन्य मेला पर्व मनाइँदैन ।

दोलखामा नारायणको मन्दिरको साथमा मनाइने जात्रा भनेकै ‘माधव नारायण’को नामोच्चारणबाट माघ महिनामा स्वस्थानी व्रत कथा समापन गरिने पूर्णिमाको दिनको ‘सह धारा’ जात्रामा मात्र हो । यहाँ नारायाणको मन्दिरको अलावा महादेवको मन्दिर पनि यत्रतत्र सर्वत्र रहेको पाइन्छ । ती सबैको चर्चा गर्न र महत्त्व झल्काउन फेरि अर्को इतिहासकार धनवज्र वज्राचार्यको पुनर्जन्म र इतिहास अध्ययनकर्ता टेकबहादुर श्रेष्ठले नै गति लिनुपर्ने जस्तो देखिन्छ । तर दुःखको कुरा एक वज्राचार्यले संसार छाडिसकेका छन् भने अर्का एक श्रेष्ठ अस्वस्थ रहेका छन् । ती दुईले दोलखाकोबारेमा इतिवृत्तान्त अध्ययन गरेर अभिलेख खोतलखातल गरी २०३० सालमा ‘दोलखाको ऐतिहासिक रूपरेखा’ नामक पुस्तक तैयार गरे । जसको फलस्वरूप पछिल्लो समयमा आएर दोलखाको इतिहासबारे केही दिग्गजहरूले निकै अभिरुचिका साथ टिप्पणटाप्पन गर्ने जमर्को गरे पनि बाँकी उत्खनन् इतिहास शिरोमणि बाबुराम आचार्यको एक कथन ‘मल्लाकालीन इतिहास पूर्ण हुन दोलखाको इतिहास उत्खनन् गर्न बाँकी..’ भन्ने उद्धरणमै सीमित रहेको छ ।
आफ्नै मौलिकता बोकेर २०७२ सालको भूकम्पले धराशायी बनेको श्यामसुन्दर टोलको श्यामनारायण मन्दिर पुरातत्व विभागको मातहतमा (अन्य मन्दिर पनि) पुनर्जीवन पाएर ठडिए पनि पछिल्लो समयमा आएर दैनिक पूजाआजा गर्ने भक्तको सोत अभाव खट्किएको देखिन्छ । कार्तिक शुक्ल पूर्णिमाको दिन भजनको समापन (स्थानीय मौलिक भाषामा ‘आरम्भ) र यदाकदा व्यक्ति विशेषको सत्यनारायणको कथा लाइने धार्मिक समारोह बाहेकको अन्य दिन प्रायः सन्नाटा नै रहेको पाइन्छ । हाल भीमेश्वर नगरपालिकाको वडा नं. २ को कार्यपालिकाको कार्यालय निर्माणसहितको पुनरागमनले सो मन्दिर परिसर केही चहलपहल बढ्नेमा आशा पलाएको छ । पािलका भवन सामूको ऐतिहासिक रानी पोखरी (इन्द्र तलाउ)को सुख्खा दृश्यले मन उदासिन्छ । जहाँ हरेक ‘गुन्ला पुनिस’ (ठूलो लाखे नचाइने र पौडी खेलाइने परम्परागत सम्बन्धको दिन) जात्रा पर्व बाहेकको सिँचाइको विकल्पमा रहेको छ । आशा गरौँ, वडापालिका पूर्णरूपमा सञ्चालन भएपछि यस पोखरीकाे महत्त्व बुझेर स्थानीय पालिकाले पहल कदम अगाडि बढाएमा याे सदासर्वदा जलाशयको रूपमा दर्शनीय हुनेछ ।

हुन त दोलखामा जन्मेर परदेशका ठूला शहरमा बसेर दोलखाली पहिचानको नारा बोकेर एकताबद्ध हुने अभिमतका साथ च्याउ उम्रेसरीको सामाजिक संघसंस्थाहरू जन्माउने युवाहरूको कमि छैन । तर सबैको मध्यनजर साक्षात भीमसेनको मन्दिर र यदाकदा बजारको बीचको महादेव मन्दिर परिक्रमण गर्ने र कुनै विशेष मेला लाग्दा हुने भीडमा सीमित रहेको पाइन्छ । अनि कालिञ्चोक भगवती कुण्ड दर्शन र भ्रमणका लागि लाग्नेहरू पनि उल्लेख्य देखिन्छ । तर शहर भित्रकै मन्दिर, चैत्य, बिहार, बहार(ल), बहिर(ल)तर्फ अपेक्षा गरिनुको कारण चाहिँ अलिक बुझ्न गाह्रो परिरहेको छ ।
पिङ्गल टोलको महादेवमा शिवरात्रीमा धूनी जगाएर भजन गर्न, बाला चतुर्दशीमा शतबीज छर्दा मात्र चासो रहेको पाइन्छ । कारण हो ज्ञानदाता संस्कृतिप्रेमी अग्रजहरूको अवसान र नयाँ युवापुस्ताको विदेश पलायन र परदेश गमन हो । तथापि स्थानीय युवावर्गले येनकेन प्रकारेण परम्परालाई निरन्तर राख्न सक्दो प्रयास गरिरहेकै देखिंदा गर्वको महसूस हुन्छ । तर दोलखामा रहेका नारायण मन्दिरहरूलाई लक्षित गरेर कुनै एक विशेष समारोह या मेलाको आयोजन गर्न सके अझ सुन्दर हुने थियो कि ? हुन त दोलखाको भीमसेनलाई नै सबै देवताको रूपमा पुज्नेहरू यथेष्ट छन् । बाबु र आमा एउटै जन्मदाता अभिभावक पालनकर्ता संरक्षक भएपनि आदर सत्कारमा सम्मान गर्ने तरिकामा केही न केही फरक हुन्छ नै । त्यसैले विशुद्ध रूपमा प्रसिद्धि पाएका देवातको अलग अलगनै ढंगबाट पुज्दा र महिमा जताउँदा त्यसको प्रतिफलको आनन्द अर्कै हुन्छ ।
अन्तमा दोलखामा रहेका देवी देवालय, चैत्य लगायतमा सान्दर्भिक परम्परागत मेला पर्वको आयोजनाका लागि कदम चाल्न जरुरी रहेको छ । यसमा हामी सबैले जोडबल दिन आवश्यक छ । दोलखामा आन्तरिक तथा वाह्य पर्यटक जुटाउनका लागि उपत्यका तथा मोफसलमा रहेका दोलखाली व्यक्ति, संघसंस्था लगायतका समूह र स्थायी रूपमा रहेका स्थानीय सम्पूर्ण समुदाय बीचमा समन्वयात्मक सहकार्य जुटाएर स्थान विशेष जात्रा तथा साँस्कृतिक क्षेत्रमा र स्थानीय उत्पादनमा जोड दिइएमा दोलखा गौरीशंकर हिमाल झैं सदासर्वदा चम्किरहनेछ ।
–श्यामसुन्दर
https://shorturl.fm/GrErw