
त्यो एउटा समाज अनि परिवेश ! जहाँ समावेशी थर समाविष्ट छन् । रगत एकै रंगको छ । परिवेशीय गतिविधि आ–आफ्नै ताल र ढंगको छ । जो आफैंमा उमंग उत्पादन गर्नका लागि आफ्नै खुट्टामा वञ्चरो हान्न पछि पर्दैनन् जुन कुराको महसुससम्म गर्न हिच्किचाउँछन् । जहाँका बासिन्दाहरू सिंगो देशका लागि अलिकति पनि योगदान दिन सकिरहेका छैनन् भन्दा अन्यायपूर्ण अस्वभाविक होला । किनकि त्यही परिवेशमा यस्ता व्यक्तित्वहरू पनि रहेका छन् जसले त्यो परिवेशमा उद्योग धन्दा चलाउन, संस्कृतिको जगेर्ना गर्न, परम्परालाई यथावत राख्न, सम्पदालाई जीवित राख्न र स्थानीय बासिन्दाहरू सधैं स्वस्थ र तन्दुरुस्त रहाेस् भन्ने खातिर स्वास्थ्य, शिक्षाकाे स्तराेन्नतिका लागि धन र मन दुवै खर्चिन अलिकति पनि कञ्जुस्याइँ गरेको देखिन्न ।
यहाँ त्यस्तो व्यक्तिको चर्चा गर्न खोजिएको छ जो नेपालमा विगतमा भएको अकल्पनीय घटनाले विक्षिप्त नेपालीको मन र धराशायी बनेको भौतिक संरचनाका लागि मल्हम बनेर उभिएको छ एक देशप्रेमी नागरिक दिव्यमणि राजभण्डारी ।

पुस्तेनी स्वभावमा उत्प्रेरित मानवीय सेवामा लाग्नका लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधारका विकासका लागि सधैं तत्पर हुनुहुने दोलखाली सन्तान जसले अमरत्व प्राप्त गरी अर्कै लोकमा रहेपनि उहाँहरूको देन र योगदानलाई त्यो परिवेशका अहिलका सन्तानले कदापि भुल्नु हुन्न । उहाँ हुनुहुन्थ्याे इन्द्रमणि राजभण्डारी । जसका सन्तानमा पत्नी टंककुमारी राजभण्डारी सहित पुत्र माधवमणि राजभण्डारी स्मरणीय पात्र हुनुहुन्छ ।
पछिल्लाे चरणमा पुगेपछि दिव्यमणि र दीपमणि राजभण्डारीज्यूहरूले दोलखाको हितका लागि धेरै ठूलो योगदान दिंदै आएको कुरालाई यहाँ जति वर्णन गरेपनि अधुराे हाेला होला सायद । त्यस मध्येका एक हुनुहुन्छ दिव्यमणि राजभण्डारी ।
दिव्यमणिज्यू राजनीतिक परिशिष्टमा नेपाली काँग्रेसमा आबद्ध रहनु भएकाे छ र २०७४ताकाकाे प्रतिनिधि सभा सदस्यका सांसद पनि हुनुहुन्छ । तथापि देशका सर्वव्यापी उपल्लो दर्जाका नेताहरूको क्रियाकलाप र गतिविधिमा केेही सक्षमपनकाे अभाव खट्किएकाे महसुस गर्नुहुन्छ र शीर्षस्थ नेतृत्व वर्गले समय अनुसार देश र जनताकाे भलाइका लागि सकारात्मक र पारदर्शी गतिविधि अपनाउन बारम्बार आग्रह सहितकाे सुझाव प्रस्तुत गरेकाे बताउनु हुन्छ । आफू सधैं नेपाली कांग्रेसकाे मूल सिद्धान्तमा अडिग रहेर देशमा विगतमा भएकाे विभिन्न अवस्था र व्यवस्था सुधार्न नेपाली काँग्रेसले निभाएकाे भूमिकाप्रति गर्व गरिनुका साथै एक असल राजनीतिक पात्रको रूपमा दर्शाउन चाहनुहुन्छ ।
गत भाद्र २३ र २४ गते जेन जेडको स्वभाविक प्रदर्शनमा तत्कालीन राज्य सत्ताको अस्वभाविक हस्तक्षेपका कारण देशैभर जनधनको अकल्पनीय क्षति भएको देख्दा आफू अत्यन्तै मर्माहट भएको कुरा उज्यालो एफ एमको अन्तर्वार्तामा बताउनु भएको छ । राज्यको अति संवेदनशील प्रशासकीय भवन सिंह दरबार, सर्वोच्च अदालत, जिल्ला अदालत, स्वास्थ्य मन्त्रालय, संसद भवन, विभिन्न प्रहरी प्रभाग वृत्त आगजनी तोडफोड गरेर जुन अमानवीय गतिविधि भयो त्यसप्रति जति निन्दा गरेपनि नपुग्ने बताउनुहुन्छ् । के यो देशमा मानवीय र मानवता भन्ने हराइसके र ? प्रतिप्रश्न तेर्स्याउनु हुन्छ उहाँ ।
नेपालमा जेन जेड आन्दोलनका क्रममा राजधानी लगायत राज्यभर नै विध्वंश मच्चिरहँदा देशको दुर्दशा देखेर अत्यन्तै दुःख लागेको बताउँदै जब पुरानो सत्ता हटाएर नयाँ अन्तरिम सरकार बनेपछि प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषदको निर्णयले क्षतिग्रस्त भौतिक संरचनाहरू निर्माणका लागि आम नागरिक समेतलाई सहयोगको आव्हान भएको जानकारी पाइयो त्यसपछि आफूले पनि देशका लागि केही सहयोग दिने मनशायका साथ रु. ५१ लाख प्रधानमन्त्रीको सुरक्षा खातामा हालिदिएको बताउनुभयो ।

उज्यालो एफ.एम.का सञ्चालक एवं प्रस्तोता कुमार रञ्जितसँग टेलिफोनबाटै अन्तर्वार्ता दिंदा उक्त कुरा बताउनु भएको हो । उहाँको यो सहयोगलाई सबैले तारिफयोग्य ठान्दै त्यसैकाे प्रेरणामा विभिन्न कम्पनी, उद्यमी र समाजसेवीले पनि सहयोग दिने वचनवद्धता बढ्दै गएको छ र रकम संकलन हुँदै गरेको जानकारी पनि प्राप्त भइरहेको राजभण्डारी बताउनुहुन्छ ।
राजभण्डारीले उक्त रकम दिने वचन दिए लगत्तै आन्दोलन केही मत्थर भइसकेपछि आफूले दाखिला गरेको रकमको बैंक भौचरसहित प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष भेटेर हस्तान्तरण गर्नुभएको थियो । साथै सो अवसरमा प्रधानमन्त्री कार्कीलाई संकलित रकमलाई सही विषयमा सही ढंगले पारदर्शी रूपमा सदुपयोग गर्न गराउन सल्लाह समेत दिएको बताउनु भएको छ ।
उज्यालो एफएममा अन्तर्वार्ता दिने क्रममा नेपालको कुनै पनि आन्दोलन सफल हुनुमा नेवार समुदायको ठूलै देन र योगदान भएको स्मरण गर्नुहुँदै शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठको बलिदानबाट प्राप्त प्रजातन्त्रको उदयकालीन अवस्थाबारे नेवार समुदायकाे उल्लेखनीय भूमिका रहेकाे जानकारी गराउनु भयो । साथै उहाँले भावनामा बगेर देश बन्दैन, देश र आम जनताको हितका लागि मूल मर्म बुझेर अगाडि बढ्न आवश्यक रहेकाे र केही नेताहरूको साेचमा कमीकमजाेरी भएकै कारणले नै अहिलेका नयाँ युवा पुस्ताहरू जुर्मुराएका हुन् भन्नुमा अत्युक्ति नहाेला भन्ने उहाँकाे तर्क रहेकाे छ ।
उक्त अन्तर्वार्ता पश्चात् वर्तमान सरकारलाई क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि गरिएको सहयोगको सन्दर्भसहित उहाँसँग मातृभूमि दोलखाको बारेमा धारणा बुझ्न खोज्दा राजभण्डारीज्यूले उक्त आर्थिक सहयोगको मूल उद्देश्य नै देशप्रतिको माया भएको तर कुनै पार्टीको व्यक्ति भएर होइन, पार्टी त आज छ भोलि रहन्छ रहँदैन के ठेगान तर देश सदैव ररिरहन्छ भन्नुभयो ।

मातृभूमि दोलखाबारे आफ्ना पूर्खा अर्थात् हजु्रबा पूर्णलाल राजभण्डारी (डिट्ठा साहेब)को अतीतलाई स्मरण गर्दै जीवनको भोगाइ र त्यसपछिका सन्तानले दोलखाको शैक्षिक, सामाजिक र साँस्कृतिक विकास, स्वास्थ्य क्षेत्र र दिगोपनका लागि बुबा इन्द्रमणि, माता टंककुमारी, मुक्तिमान, माधवमणि र जगन्नाथ राजभण्डारी लगायतका राजभण्डारी खलकले गरेको योगदानको कदरलाई सम्मान गर्न त परैजावस् सम्झन पनि हिच्किचाउने समाजप्रति चित्त दुखेको खुलासा गर्नुभएको छ । यहाँ सम्म कि दोलखा जिल्लाको विभिन्न गाउँ ठाउँमा स्कूल स्थापना देखि सञ्चालन गर्न र सामाजिक हितका लागि कालिञ्चोक युवा क्लव, द्वाल्खा गुठीको स्थापना गरिएकाे प्रसङ्ग राख्दै जसकाे संरक्षण र सम्वर्द्धनका लागि पनि राजभण्डारी खलकको योगदान कति थियो र रहेको छ भन्ने मूल्यांकन गर्नेहरूको कमी रहेको अनुभूति प्रष्ट्याउनु भएको छ । साथै उहाँले दाेलखाकाे स्थानीय विकास र शैक्षिक स्तराेन्नतिका लागि तत्कालीन प्रधानपञ्च खड्गबहादुर श्रेष्ठकाे तर्फबाट भएकाे याेगदानकाे स्मरण गर्न छुट्टाउनु भएन ।
राजभण्डारीज्यूले दाेलखा जिल्लामा ६४ वटा विद्यालय बनाउन सहयाेग गरिएकाे स्मरण त अविस्मरणीय छ नै साथै प्राकृतिक प्रकाेप, जैविक प्रकाेप र भूकम्पले पीडित भएका नागरिकहरूमा सेवा पुर्याउनु भएकाे प्रायः सबै दाेलखालीमा जानकारी भएकै हुनुपर्छ । राजभण्डारी खलककै मुक्तमान राजभण्डारीज्यूले तत्कालीन छारे राेग निवारण सम्बन्धी नेपालमै पहिलाे अस्पतालकाे रूपमा स्थापना गर्नुभएकाे थियाे । जहाँ काेरियन डाक्टर र नर्सहरू दाेलखामै रहेर सेवा पुर्याइएकाे मानवीय धर्मका गतिविधि र सामाजिक सद्भावपूर्ण कार्यहरू अविस्मरणीय रहेकाे उहाँ बताउनुहुन्छ । पछि त्यही अस्पताल लायन्स क्लव मार्फत् सञ्चालन भएकाे र हाल नयाँ भवनकाे निर्माण सहित धुलिखेल अस्पतालकाे नाममा सञ्चालन भइरहेकाे छ । यसकाे जग स्थापना र स्थायीत्वमा राजभण्डारी खलककाे याेगदान सम्झनामा राख्नैपर्छ ।
सहयोगी मनकै कुरा गर्नु पर्दा विगत केही वर्ष पहिले नेवारहरूको राष्ट्रिय संगठनको नेवाः देय् दबूको भवन निर्माणार्थ पनि आर्थिक सहयोग गर्नु भएको छ । सो संस्थाले नेवारहरूकाे हितका लागि विभिन्न कार्यक्रम गरिंदै अगाडि बढिरहेकाेमा प्रसन्नता व्यक्त गर्नुहुन्छ । तथापि देशैभरका नेवार समुदायलाई एकै समूहमा बाँध्न लागि परेपनि जाेकाेहीबाट सहयोग प्राप्तिपछि संस्थाले खासै चासो नदिनुको कारण बुझ्न नसकेको राजभण्डारी बताउनु हुन्छ ।
देश, समाज, धर्म र संस्कृतिकाे संरक्षण सम्वर्द्धनमा तत्पर रहनुहुने दाेलखाली राजभण्डारी खलककाे याेगदानप्रति नमन छ । सधैं सत्य र यथार्थलाई आत्मसात् गर्दै कल्याणकारी विचार र धर्मको शरणमा लीन रहने चाहने उहाँको समाजप्रतिको आत्मीय देन सदासर्वदा स्मरणीय रहनेछ ।