
जनवादी गणतन्त्र राष्ट्र चीन र नेपालको बीचमा भएको दौत्य सम्बन्ध भएको ७०औं वार्षिकोत्सव Friends of the Cloud: Platform of Influcncers Nepal (FCPIN) नामक संस्थाले काठमाडौंमा भव्यताका साथ मनाएका छन् ।
चीनका लागि नेपालको तर्फबाट पूर्व राजदूत समेत भइसकेका पूर्व परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको आतिथ्यमा भएको सो समारोहका सभापतित्व संस्थाका संस्थापक अध्यक्ष समाजसेवी शोभित उप्रेतीले गर्नुभएको थियो । सो अवसरमा राजनीतिक विश्लेषक डा. सुरेन्द्रकेसी, वरिष्ठ पत्रकार जीवराम भण्डारी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ लगायत कुटनीतिक व्यक्तित्व र विभिन्न विधाका सामाजिक व्यक्तित्वहरूको उपस्थिति थिए ।

राजधानी काठमाडाैंकाे बत्तीसपुतलीस्थित तपस हाेटलमा भएकाे कार्यक्रममा संस्थाका अध्यक्ष शोभित उप्रेतीले चीनसंगको दौत्य सम्बन्धी कार्यक्रम विगतदेखि राम्रो हुँदै आएको बताउँदै चीनले सेकेण्ड सेकेण्डमा विकासको अवधारणा सहितको उन्नति गरेको देख्दादेख्दै नेपाल भने सदैव झीनामसिना कुरामा अल्झिरहेको पाइँदा दुःख लागेको बताएका छन् । यो सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपालमा पनि विविध कार्यक्रम गर्दै आएको र निरन्तर जारी राख्ने जानकारी दिनुभएको छ ।
समारोहमा चीनमा लामो समयसम्म अध्ययन गरेर परराष्ट्रविद् मनिता कुशीले चीनमा भइरहेको शैक्षिक विकास, आर्थिक स्तरोन्नति, प्रविधिको विकासको चर्चा गर्दै नेपालका द्रुत विकासका लागि चीनको सहयोग अपरिहार्य रहेको बताइन् । सथै उनले चीनले हालसम्म विविध शीर्षकमा सहयोग पुर्याउँदै आएको टिप्पणी उठाउनु भएको थियो ।
त्यसैगरी विशेष अतिथिको रूपमा आमन्त्रित राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेपाल र चीनको सम्बन्ध युगौं पहिलेदखि हुँदै आएको भएपनि कुटनीतिक सम्बन्ध भने निकै समय पश्चात भएको अर्थ्याउँदै लिच्छवी वंशका शासकको पालामा रहेका अंशुवर्माले चीनसंग नाता सम्बन्ध गाँसेर भृकुटीको सन्दर्भलाई प्रष्ट पारेका थिए । त्यस्तै गरी हस्त कलाकार अरनिकोको कारणले पनि चीनसंगको अद्वितीय सम्बन्ध रहेको र कतै कतै सुन्नमा आएको कुरा अनुसार कलाकार अरनिकोको चीनमै बहुपत्नी भएकोले तथ्य केलाउने हो भने अहिले पनि उनका वंश फैलिएको हुनसक्ने अनुमान गर्नुभयो ।
आफ्नो विचार व्यक्त गर्ने क्रममा डा.केसीले लिपुलेक, कालापानीमाथि भारत र चीनले उठाएको सीमा विवादलाई संवाद गरेर सुल्झाउनु पर्ने तर्क अघि सार्नुभएको छ । चीनको विकास द्रुतगतिले भइरहेको छ र विश्वमा अग्रपंक्तिमा पुग्नै लाग्दा नेपालीहरू एक अर्काको हानाथापको राजनीतिमा अल्झिरहन नहुने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि चीनका लागि नेपालकाे पूर्व राजदूत एवं परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले चीनियाँहरू हातलाई यन्त्रको रूपमा चलायमान बनाउँछन् र तीव्र विकास गर्छन् तर नेपालीहरू कानलाई आधार बनाएर कुरा सुनिरहन्छन् अनि देशका कर्णाधार भन्दै ठूलाठूला भाषण गर्छन्, अनि कसरी हुन्छ नेपालको स्तरोन्नति ? भन्दै कटाक्ष गर्नुभएको थियो । नेपाल र चीन बीचको सम्बन्धलाई कागजमा मात्र सीमित रहन दिन नहुने उताबाट पाएको सहयोगलाई समयमै कार्यान्वयन गरेर विषयगत कार्यमा अग्रसर हुन जरुरी रहेको टिप्पणी उठाउनु भएको छ ।
चीनको हरेक वस्तु, प्रविधि हामीले सदपयोग गरिरहेका छौँ, तर हामीले ती वस्तुहरू स्वयं उत्पादन गर्न वास्ता गर्दैनौं, जब हरेक विषय र शीर्षकमा चीन सहयोग गर्न तैयार छन् भने, सीप र कला प्रविधिको उपाय पनि त सिकाउन सहयोग लिनेतर्फ राज्यले पहल गर्न जरुरी रहेको तर्क प्रमुख अतिथि पाण्डेले प्रस्तुत गर्नु भएको थियो ।

यसैबीच सो समारोहमा चीन र नेपाल बीचको सम्बन्धको सामाजिक विकास, साँस्कृतिक क्षेत्रमा अनवरत लागिपरेको संस्था Friends of the Cloud: Platform of Influcncers Nepal (FCPIN) मा आधारित विषयवस्तुलाई पत्रकारिता मार्फत् उजागर गर्दै आएको योगदानको कदर गर्दै प्रमुख अतिथि पाण्डेज्यूको बाहुल्यबाट तीनधारा मिडिया प्रा.लि.का सञ्चालक एवं पत्रकार बालकृष्ण श्रेष्ठ ‘पासा’लाई कदर–पत्र प्रदान गर्नुका साथै सोही सन्दर्भमा विशेष कार्यक्रममा चीन जान लागेका एक पत्रकारलाई विदाइ गरिएको थियो ।