Headlineबिशेषसमाचारसमाज

दाेलखा लगायत नेवार बस्तीहरूमा परम्परागत पञ्चदान (पाङ्जा) यात्रा प्रारम्भ

नेपालको सांस्कृतिक विविधता र धार्मिक सहिष्णुताको अद्भुत उदाहरण हो- पञ्चदान पर्व। विशेषतः नेवार समुदायमा मनाइने यो पर्व बौद्ध दर्शनको ‘दान पारमिता’को अभ्यास मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र ऐतिहासिक चेतनाको पुनर्जागरण पनि हो।दाेलखा, काठमाडौं, ललितपुर, भक्तपुरजस्ता उपत्यकाका नेवार बस्तीहरूमा यो पर्वको गहिरो परम्परा छ, माेफसलमा रहेका नेवार समुदायमा दोलखाजस्तै रामेछाप, नुवाकाेट, हेटाैडा जस्ता बाहिरी क्षेत्रहरूमा पनि यसको स्थापना हुँदै गएको देखिन्छ।

पञ्चदानको उत्पत्ति लिच्छविकालदेखि मानिन्छ। वृषदेव, शिवदेवजस्ता राजाहरूले विहार निर्माण गरी आर्य भिक्षुहरूलाई भोजन दान गरेको अभिलेखहरूमा उल्लेख छ। बौद्ध धर्ममा दानको स्थान अत्यन्त उच्च छ- बोधिसत्वहरूले शरीर, धन, सन्तानसम्म दान दिएको कथा जातक ग्रन्थहरूमा पाइन्छ। यही परम्पराको निरन्तरतामा पञ्चदान पर्व विकसित भएकोमानिन्छ ।

काठमाडौं, ललितपुर, भक्तपुरमा जस्तै धार्मिक अनुष्ठानमा लिप्त रहेकाे दाेलखामा पनि पञ्चदान पर्व विशेष धूमधामका साथ मनाइन्छ। याे पञ्चदानकाे अवसरमा दाेलखाकाे नक्छेँ टाेलिस्थत दिपंकर बुद्ध मुर्तिमा पूजाआजा गरी नगरभित्र रहेका सबै स्तुपा चैत्यहरूमा पुगेर दान थाप्ने र बुद्धकाे मुर्तिमा पूजा गरिने परम्परा यथावत् रहेकाे छ । लगभग पन्ध्राैं शताब्दिदेखि चलिआएकाे मानिए पनि दाेलखामा वज्राचार्यकाे आगमन तान्त्रिककाे रूपमा साताैं शताब्दी पहिले भएकाे मान्न सकिने अनुमान दाेलखाकाे मच्छिन्द्रनाथकाे रथयात्राकाे क्रमबाट गर्न सकिन्छ । दाेलखामा यि पर्वलाई ‘पाङ्जा’ भन्ने गरिन्छ, जुन पञ्चदानकाे अपभ्रंश शब्द हुनसक्छ ।

विगत केही वर्ष वज्राचार्य र तुलाधरकाे समिश्रणमा याे परम्परा सञ्चालन हुँदै गरेकाे भएपनि यसवर्षदेखि भने वज्राचार्य दाजुभाइ रामभक्त वज्राचार्य र सञ्जिप वज्राचार्यले निरन्तरता दिने भएकाे छ । यसभन्दा पहिले पुष्पमान वज्राचार्य (कालुपाते) र उनका सन्तान अनि बुद्धरत्न तुलाधर र उनी पछिका सन्तानले बिंडाे थाम्दै आएका थिए । यकिनन् मिति थाहा नभएपनि छैंठाें शताब्दि पहिले बहारटार निवासी कृष्णबहादुर श्रेष्ठ (वज्रातचार्य)का अघिल्लाे पुस्ता जुजुमणि वज्राचार्यकाे पालादेखि निरन्तर रूपमा याे पञ्चदान चल्दै आएकाे जानकारी जीवित जेष्ठ अग्रजहरू सुनाउँदछन् ।

पञ्चदान कार्यक्रममा बज्राचार्य, बुद्धाचार्य, शाक्य समुदायका कुलपुत्रहरू पिण्डपात्र लिएर भिक्षाटनमा निस्कन्छन्। बाजागाजाका साथ दानगाथा वाचन गर्दै अन्न, फलफूल, औषधि, पैसा आदि ग्रहण गरिन्छ। यही अनुरुप दाेलखाकाे सबै चैत्यहरूमा पुगेर याे पर्वकाे परम्परा चलाइन्छ । याे पर्व कम्तीमा चार दिन मनाइने गरिन्छ ।

भक्तपुरमा पाँच दीपङ्कर तथागतहरूलाई विहारबाट बाहिर निकालेर नगर परिक्रमा गरिन्छ। टोल–टोलमा दानशाला बनाइन्छ, मूर्तिहरूको पूजा गरिन्छ, र भिक्षाटन गरिन्छ। भक्तपुरको टौमढीमा पाँच दीपङ्कर तथागतहरूलाई दबलीमा विराजमान गराई देशना नृत्य, स्तोत्र वाचन, गुँलाबाजं, धिमे बाजा आदिको सांस्कृतिक प्रस्तुति गरिन्छ। टोलका विभिन्न समुदाय- प्रजापति, मानन्धर, चित्रकार, सुवाल, ताम्राकार, नकर्मी आदि- आ-आफ्नो गच्छेअनुसार दान प्रदान गर्छन्। कतिपय स्थानमा पैतालामा फूल राखी ढोगी स्वागत गर्ने परम्परा (तुति लि चायकेगु) पनि कायम छ।

दोलखामा पनि पञ्चदानको परम्परा ऐतिहासिक रूपमा जीवित रहेको प्रमाणहरू छन्। यहाँका पुर्खाहरू वज्राचार्य परम्पराका अनुयायी थिए। पाँच ठूला स्वयम्भू स्तुपा, बहाल–बहिल–विहारको व्यवस्था, र बौद्ध मूर्तिहरूको अस्तित्वले दोलखालाई उपत्यकासँग सांस्कृतिक रूपमा जोड्छ। तर समयको अन्तरालमा ती संरचनाहरू समयमै जीर्णाेद्धार नगरिंदा झण्डै प्रतीकात्मक मात्र हुन थालेकाे थियाे पछि पुरातत्व विभाग र विभिन्न निकाय र सामाजिक संस्थाकाे पहलमा तसी सम्पदाले पुनर्जीवन पाएका छन् । अझै दाेलखा बजारकाे उत्तरतर्फ रहेकाे वज्रयाेगिनी मन्दर संगैकाे सिङ्गाे पत्थरकाे स्तुपाले पुनर्जीवन पाउने अभिलाषा बाेकेर आशाकाे बाटाे तेर्स्याइरहेकाे छ ।

दाेलखामा रहेका बिहार, बहिर(ल) र बहार(ल) नामका बाैद्ध धर्मका सांकेतिक घरहरू छैनन् । तथाकथित धनाढ्य भनाउँदा सामन्ती सोचले व्याप्त भएका व्यक्तिहरूले विहारका जग्गाहरूमा हस्तक्षेप गरेपछि टोलको नाम मात्र सीमित रहन गएकाेमा अनर्थ मान्न जरुरी नहाेला, याे अत्यन्तै दुःखद पक्ष हो। तथापि, डा. सुनिल मास्केले स्वजग्गामा बिहार स्थापना गरी बुद्ध मूर्तिहरू प्रतिस्थापना गर्नु दोलखाको सांस्कृतिक पुनर्जागरणको प्रेरणादायी उदाहरण हो।

दोलखाको सांस्कृतिक धरोहर उपत्यकासँग मेल खाए पनि उपत्यकामा रहेका सञ्चार माध्यमहरूले दाेलखाप्रति पर्याप्त ध्यान नदिएको देखिन्छ। उपत्यकामा सञ्चारकर्मीहरूले दोलखाको पञ्चदान, विहार परम्परा, वज्राचार्य पुनःस्थापनाबारे चर्चा नगर्नु चिन्ताको विषय हो। यसले स्थानीय पहिचानलाई ओझेलमा पार्ने खतरा उत्पन्न गर्छ। जे हाेस् दाेलखामा पनि पञ्चदान पर्व धुमधामले मनाइन्छ । जुन पर्व मात्र वज्राचार्यकाे हाे भन्ने भावना त्यागेर रीतिरवाजमा फरक अन्तर भएपनि सिङ्गाे दाेलखालीकाे पर्व हाे भन्ने धारणा सहित समन्वय गर्ने बानि बसालाैँ, अस्तु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button