गाइजात्रा विशेषः एकांकी
(मञ्चमा घोडा नाच सुरु हुँदैछ। घोडा नाचको रौनक छ। बकबक उत्साहित छ। बुद्धि गम्भीर छ।)
बकबक (उछालिँदै): हेर्नु त बुद्धि! कस्तो रमाइलो! घोडा नाच त साँच्चै हाम्रो संस्कृति हो है!
बुद्धि (शान्त स्वरमा): संस्कृति त हो नि, तर नाच हेर्दा नाच्नेको चाल पनि बुझ्नुपर्छ।
बकबक: के चाल बुझ्ने? घोडा त नाच्दैछ, रमाइलो गर्दैछ!
बुद्धि: घोडा त नाच्छ, तर समाज त अरूको चाल बिगार्न नाचिरहेको छ। सफल मान्छे देखेपछि खुट्टा तान्ने, हाँसोको नाममा घृणा फैलाउने।
(दर्शकहरू हाँसिरहेका छन्। घोडा नाचको तालमा रमाइरहेका छन्।)
बकबक: गाइजात्रा त व्यंग्यको पर्व हो नि! हाँसो त आवश्यक हो!
बुद्धि: हो, तर हाँसोले चेतना जगाउनुपर्छ। आजकल त हाँसोको नाममा चरित्र हत्या गरिन्छ। व्यंग्य होइन, विष वमन गरिन्छ।
(घोडा फेरि नाच्दैछ। बुद्धि घोडालाई हेर्छ। बकबक थकित छ तर अझै उत्साहित छ।)
बकबक: बुद्धि, तिमी त नाच हेरेर पनि गहिरो कुरा गर्छौ। रमाउन जान्नुपर्छ!
बुद्धि: रमाइलो त रमाइलोमै हो, तर रमाइलोको नाममा अरूको पीडा बनाउनु त गाइजात्राको आत्मा होइन। घोडा नाच त कला हो, तर समाजको चाल त कलंक हो।
(घोडा नाचको बीचमा बुद्धि मञ्चतिर जान्छ। दर्शकहरू चुप लाग्छन्। बुद्धि बोल्छ)
बुद्धि (मञ्चबाट): हे समाज! तिमी घोडा नाच हेर्छौ, तर आफ्नै चाल बिर्सन्छौ। तिमी हाँस्छौ, तर अरूको आँसुमा। तिमी व्यंग्य गर्छौ, तर आत्मचिन्तन गर्दैनौ। गाइजात्रा त मृतकको सम्झना हो, तर तिमी त जीवितको आत्मा मार्दैछौ।
(घोडा अन्तिम पटक नाच्दैछ। बकबक चुप छ। बुद्धि घोडालाई हेरेर भन्छ)
बुद्धि: हे घोडा ! तिमी त हरेक मान्छे बाेकेर, भारी अाेसारपसार गरेर अनि नाचेर समाजलाई रमाइलाे गराउँछाै, तर तिमी बोल्दैनौ किनभने तिमीमा ईर्ष्या छैन, घृणा छैन। हामीले तिमीबाट सिक्नुपर्छ बाँच्न, नाच्न र रमाउनका लागि, तर मान्छेहरूले अरूको प्रगतिमा उत्साह बढाउने होइन कि हालत बिगारेर नचाउन खाेज्छन् । त्यसैले तिम्राे अगाडिकाेे टापकाे ध्वनिसँग समाजकाे बुलन्द स्वर खाेज्न चाहन्छु ।
(घाेडा हिन्हिनाउँदै धेरै दर्शकहरू भए ठाउँतिर लाग्छ जुराे उचाल्दै एक्कासी कराउन थाल्छ)- ‘हे मनुष्य हाे, मैले बाेल्न जान्दैन भन्दैमा तिमीहरू जे पायाे त्यही गर्ने ? जता पायाे उतै कुदाउने मलाइ ? मैले त राजा रैती सबैलाई समान ठानेर मेराे पिठ्युँमा बाेकेर हिँड्छु, तिमीहरू चाहिँ मान्छे भएर पनि ठूलाेसानाे, धनीगरिब र हुने नहुनेकाे तुलना गर्छाै ? के बुद्धिजीवी मानव भनेकाे यही हाे पारा….? यस्तै पारा हाे भने तिमीहरूकाे उन्नति असम्भव छ । (भन्दै घाेडा विपरीत दिशातर्फ लम्कन्छ । बुद्धि हेरेकाे हेरेइ हुन्छ ।)
समाप्त
https://shorturl.fm/FtV0v