Headlineबिशेषविचारसमाज

के केवल बधाई तथा शुभकामनामा अलमलिनु मात्र मन्त्रीकाे दायित्व हाे ?

समयको सन्देश: नेतृत्व, जनअपेक्षा र चाकडीको छायाँमुक्त समीक्षा

बागमती प्रदेश सरकारभित्रकाे आपसी मतभिन्नताका कारण विश्वास र अविश्वासकाे भूमरीमा परेर नयाँ मुख्यमन्त्री नियुक्त भए सँगसँगै नयाँ मन्त्रीमण्डल गठन गर्ने प्रक्रिया अगाडि बढ्याे ।

जुन क्रममा केन्द्रीय राजधानी समेत रहेका बागमती प्रदेश सरकारले नयाँ वन तथा वातावरण मन्त्रालयमा दाेलखाबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभासदस्यमा स्थापित एक उर्जावान, स्पष्ट वक्ता, जाँगरिला व्यक्ति भरतबहादुर केसीलाई मन्त्री बनाए ।

वागमती प्रदेश सरकारका नवनिर्वाचित वन तथा वातावरण मन्त्री भरत बहादुर के.सी.ज्यूको पदग्रहण अवसरमा नेकपा एमाले भीमेश्वर नगर सम्पर्क मञ्चद्वारा आयोजित बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरे। यस्तै आफ्नाे क्षेत्रका व्यक्तिले मन्त्री पद पाएकाेमा विभिन्न वडाका विविध संघसंस्थाहरूले समाराेहकै रूपमा माला, अबिर र फूलका गुच्छासहित स्वागत, बधाइ तथा शुभकामना सत्कार पनि गरे । याे सामाजिक रूपमा संस्कारको निर्वाह गरे पनि, यसले नेतृत्वको मूल्यांकनको गहिरो प्रश्न उठाएको छ, के यस्ता सत्कारहरूले जनअपेक्षाको प्रतिनिधित्व गर्लान् त ?

समयका लागि समयले नै मूल्यांकन गरिरहेको हुन्छ । नेतृत्वको मूल्यांकन सम्मान सत्कारको क्षणिक चमकले होइन, दीर्घकालीन परिणामले हुने सन्देश दिन्छ। मन्त्रीज्यू स्वभावतः कानुनी अनुभवले खारिएका व्यक्ति हुनुहुन्छ, साथमा दाेलखाकाे हरेक विषय र समस्यासँग विज्ञ नै हुनुहुन्छ, त्यसैले जनताले अपेक्षा गरेका छन् गाउँ, बस्ती र नगरका मूल समस्याहरूमा केन्द्रित ध्यानदिनबाट मन्त्रीज्यू पछि हट्नु हुनेछैन र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी केवल नीति निर्माणमा सीमित हुनु हुँदैन; यसले जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने व्यवहारिक कार्यक्रमहरू ल्याउनुहुनेछ भन्नेमा सबैमा आशा पलाएकाे छ ।

अब स्वागत सत्कारको स्वरूपकाे कार्यक्रममा बधाई दिने हात र शुभकामना व्यक्त गर्ने मुखहरूले चाकडीको गत्ध नफैलाइकन नातावादको इसारा नथमाइकन स्वस्थलगत र स्वस्थानीय बढावाका निमित्त कानेखुसी नगरीकन पार्टीगत विचारधारामा मात्र सीमित रहेर एकको स्वधर्ममा मात्र पदीय दायित्व खर्चिन थाल्नु भयाे भने समयले नै धाेका नदेलान् भन्न सकिन्न । स्थानीय नागरिकहरूकाे गतिविधिले देखाउँछ कि सत्कारको स्वरूपमा आत्मप्रशंसा भन्दा जनचेतनाको संकेत अधिक महत्वपूर्ण हुन्छ।

नवनियुक्त मन्त्रीज्यूले याे पनि बुझ्न जरुरी छ कि पत्रकारिताको कलमले यस्ता अवसरहरूमा केवल प्रशंसा मात्र होइन, प्रश्न पनि उठाउन सक्छन् । मन्त्रीज्यूको नेतृत्वमा वन संरक्षण, वातावरणीय सुधार, र ग्रामीण विकासका ठोस कार्यक्रमहरू ल्याउने अपेक्षा जनताले गरेका छन्। सत्य विकास र विकसित प्रदेशको चर्चा सुन्न पाइयोस् भन्ने शुभकामना मात्र होइन, त्यसको कार्यान्वयन देख्न पाउनु जनताको चाहना पनि रहेकाे छ ।

समय वलवान छ, त्यही समयले आगामी ८४ सम्ममा सारा जनताकाे मन जित्ने काम गरेर उत्कृष्ट सफलता प्राप्त गरे भने मिष्ठान्न भोजनयुक्त ८४ व्यञ्जन खाने अवसरको निर्णय गर्नेछ । त्यसैले समयले नै नेतृत्वको दीर्घकालीन मूल्यांकनको प्रतीक दिन्छ। आजको सत्कारले होइन, भोलिको परिणामले मन्त्रीज्यूको भूमिका स्मरणीय बनाउनेछ।

मन्त्री पद हाेसा या देशकै विशिष्ट श्रेणीकाे पद जुन भएपनि सिङ्गाे वागमती प्रदेश भित्रका वनजङ्गल, नदीनाला, कृषिबाली सबै सार्वजनिक रूपमा समान हुन् कुनै राजनीतिक पार्टीकाे बिर्ता हाेइन भन्ने धेय राख्न जरुरी छ । केवल स्वजन सत्कारको क्षणिक चमकभन्दा सर्वाेपरी जनअपेक्षाको गहिरो आवाज सुन्ने र त्यसअनुसार काम गर्ने नेतृत्वले नै प्रदेशको मुहार फेर्न सक्छ। यी तर्क र प्रसङ्ग केवल वन तथा वातावरण मन्त्रीकाे लागि अघि सारिएकाे हाेइन । सबै पदीय दायित्वमा पुगेकाहरूका लागि पनि दर्शनीय छ भनेर बुझ्नुहुनेछ ।

अन्तमा मन्त्रीज्यूको कार्यकालमा वन तथा वातावरण क्षेत्रले स्मरणीय सुधारको यात्रा तय गरोस् भन्ने शुभकामना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button